मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश


काठमाडौ, भाद्र १० -
मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश आदानप्रदान गर्न थाल्नु भएको छ भने एकचोटि सोच्नुस् । तपाईंको सन्देशको गोपनीयता नरहन सक्छ । तपाइर्ंले सेयर गर्नु भएको खबर थाहा पाउन नहुनेकहाँ पुग्न कत्ति बेर छैन ।

न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न बनाइएको टोलीले ५ लाखवटा फोनको कल डिटेल र ३० हजारवटाको एसएमएस डिटेल लिएको थियो । प्रहरीले बम हत्याको कुनै सुराक पत्ता लगाउन नसकेपछि यसरी ठूलो संख्यामा कल/एसएमएस डिटेल रिपोर्ट -सीडीआर) लिएको थियो । तर पनि प्रहरीले बम हत्याको त छेउटुप्पो थाहा पाउन सकेको छैन । तर एसएसएम डिटेलमा आदानप्रदान भएका सन्देश केही प्रहरीका लागि मनोरन्जन गर्ने साधन भएको छ । बेलुकीपख वरिष्ठ अधिकृतहरू कार्यालयबाट बाहिरिएपछि प्रहरी कनिष्ट अधिकृतहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बनाइएको अनुसन्धान कक्षमा जम्मा भएर एसएमएस पढ्छन् । सम्बद्ध स्रोतका अनुसार प्रेम र यौन सम्बन्धसँग जोडिएका एसएमएस सन्देश खुवै पढिने गरेको छ । यसबाहेक व्यापारिक डिल पनि रोचक हुने गरेको छ ।